News

सेनाले ल्याएको साढे ६ करोडको पीसीआर किट ल्याबमा किन फिट भएन ?

९ असार, काठमाडौं । नेपाली सेनाले ल्याएको २८ हजार आरएनए एक्ट्रयाक्सन किट (रिएजेन्ट) नेपालका अधिकांश पीसीआर मेसिनमा फिट नभएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारी ती आरएनए एक्ट्रयाक्सन किट ‘क्लोज सिस्टम’को भएकाले अधिकांश पीसीआर मेसिनमा फिट नभएको बताउँछन । वीर अस्पतालको ल्याबमा एक सय नमुना परीक्षण गर्न खोज्दा फीट नभएको खुलेको हो ।

‘त्यो पीसीआर किटको लागी १ एमएलको भीटीएम चाहिने रहेछ, हामीकहाँ तीन एमएलको भीटीएम प्रयोग हुन्छ, जसको कारण समस्या आएको छ’ उनले भने।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेल सेनाले ल्याएको किट देशभरका अधिकांश प्रयोगशालामा फिट नभएको रिपोर्ट आएको बताउँछन्। ‘वीर र टिचिङमा प्रयोग गर्न प्रयास गरिरहेका छौ’ उनले भने, ‘अरुले कलेक्ट गरेर पठाएको स्याम्पलमा प्रयोग नहुने रहेछ, अब हामी आफैं स्याम्पल कलेक्ट गरेर प्रयोग गर्न खोज्दैछौं।’

सेनाले ल्याएको २८ हजार आरएनए एक्ट्रयाक्सन किट ६ करोड ५२ लाख ४२ हजार २ सय ४० रुपैया मूल्य बराबरको हो । एउटा आरएनए एक्ट्रयाक्सन किटलाई सेनाले २ हजार ३ सय ३०. ०८ रुपैयाँ खरिद गरेको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्रोतका अनुसार सेनाले ल्याएको किट सान्सुर बायोटेकको हो । उक्त किटको लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सफर मिडया (भीटीएम) प्रयोग हुन्छ। सोही कम्पनीको बाहेक अन्य भीटीएममा उक्त किट फिट हुँदैन् । स्याम्पल कलेक्ट गरेर पीसीआर टेस्ट गर्नुअघि आरएनए एक्ट्रयाक्सन गर्नुपर्छ। तर, सेनाले ल्याएको किट र हामीकहाँ भएको भीटीएम फिट हुन्न।

‘उक्त किटले सोही कम्पनीको भीटीएममा मात्र सपोर्ट गर्छ, अरु भीटीएममा जबर्जस्ती प्रयोग गर्दा गलत रिपोर्ट दिन्छ’ प्रयोगशाला स्रोतले भन्यो, ‘ हामीकहाँ त हजाथरी भीटीएम प्रयोग हुन्छ जसको कारण समस्या आएको छ।’

नेपालमा अधिकांश ल्याबमा ओपन सिस्टमको भीटीएम प्रयोग हुने स्वास्थ्य मन्त्रालयको एक अधिकारी बताउछन् । जसलाई ‘थ्रि एमल’ भीटीएम भनिन्छ। सेनाले ल्याएको किट भने ‘वान एमएल भीटीएम’मा मात्र प्रयोग हुन्छ।

‘उक्त किटको एक्सपेरिमेन्ट गर्दा पहिले नै पोजेटिभ आएको स्वाबको नेगेटिभ रिपोर्ट दियो’ उनले भने, ‘पीसीआर मेसिनमा फिट नभएको कारणले रिपोर्ट नै गलत दिने भयो, यसले भद्रगोल हुन्छ।’

यसअघि प्रयोग हुने किटले सबै भीटीएममा काम गर्ने मन्त्रालयका अर्का अधिकारी बताउँछन्। ‘ओपन सिस्टमको किट प्रयोग गर्नुपर्ने बेलामा क्लोज सिस्टमको किट आएकाले समस्या भएको हो’ उनी भन्छन्, ‘२८ हजार किट स्टोरमा थन्किने अवस्थामा छ।’

जनस्वास्थ्य प्रयोगशालाको भूमिकामा प्रश्न

स्वास्थ्य मन्त्रालयको एक अधिकारीका अनुसार प्रयोगशालासम्बन्धी सम्पूर्ण सामान खरिद सिफारिस देखि गुणस्तर मापनसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नुपर्छ। प्रयोगशालासम्बन्धी सामाग्रीमा गडबढी आउदाँ त्यसको जिम्मा जनस्वास्थ्य प्रयोगशालाकै हुन्छ।

तर, यो किटमा समस्या आएको थाहा पाउँदा पाउँदै प्रयोशालाले प्रयोग नगर्न भनेर निर्देशन नदिएको उनी बताउँछन्। ‘किटमा समस्या आएको थाहा पाएपछि आफूचाहिँ प्रयोग नगर्ने, भर्खरै जडान गरिएका ल्याबमा यस्ता किट पठाउदाँ कस्तो नतिजा आउला ?’ नाम बताउन नचाहने मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो त सरासर जनस्वासथ्य माथिको खेलबाड हो।’

सेनाले ल्याएको कुनैपनि किट प्रयोगशालाले नबुझेको र प्रयोग नगरेको समेत प्रयोगशालाको निर्देशक डा. रुना झाको दाबी छ । डा. झा भन्छिन्, ‘हामीले त्यो किट नबुझेको र प्रयोग नगरेको भएर के कस्तो किट हो थाहा छैन्।’

ओम्नीले ल्याएको पोर्टेबल मेसिन र सेनाले ल्याएको रिएजेन्ट एउटै कम्पनीको

स्वास्थ्य सामग्री खरिदको पहिलो लटमा सरकारले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग ५ वटा पोर्टेवल पीसीआर मेसिन खरिद गरेको थियो । त्यतिबेला प्रति मेसिन २१ हजार डलरका दरले चीनबाट खरिद गरी ल्याइएको सान्सुर बायोटेक कम्पनीकै आरएनए एक्ट्रयाक्सन किट सेनाले ल्याएको हो। उक्त ५ वटै मेसिनको गुणस्तरमा शंका भएपछि थन्किइसकेका छन् ।

जनकपुर लगिएको प्रोटेवल मेसिनले एउटा नमुना नेगेटीभ देखाएको थियो । सो नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटीभ आएपछि त्यसलाई पनि बन्द गरिएको थियो। अन्य थुप्रै स्वाबमा उक्त मेसिनले यस्तै गलत रिपोर्ट दिएको थियो।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जडान गरिएको पोर्टेबल पीसीआर मेसिन पनि बन्द भएको छ। गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको पोर्टेबल पीसीआर मेसिन पनि थन्किएर बसेको छ। सो मेसिनले २० वटा मात्रै परीक्षण गरेको थियो। प्रदेश नम्बर ५ मा ठूलो पीसीआर मेसिन आएपछि पोर्टेवल मेसिनबाट परीक्षण रोकिएको हो।

स्वास्थ्य मन्त्रालय स्रेतले भन्यो, ‘सबै मेसिनको गुणस्तरमा शंका लागेपछि थन्काइएको हो, आरएनए एक्ट्रयाक्सन किटको हविगत पनि त्यही हुने भयो।’

जनस्वास्थ्य प्रयोगशालाकै सिफारिस अनुसार किनेको सेनाको दाबी

नेपाली सेनाका एक उच्च अधिकृतले भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख रुना झाले हस्ताक्षर गरेर दिएको सूची अनुसारकै किट ल्याइएको दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘हामी प्राविधिक कुरामा विज्ञ होइनौं, स्वास्थ्य मन्त्रायल र प्रयोगशालाले भनेकै किट खरिद गरेर ल्याइएको हो ।’

गत चैत १६ मा क्याविनेटले निर्णय गरेर सेनालाई सामान खरिद गर्ने जिम्मा दिएको थियो। जेठ ३ गतेबाट सेनाले हवाई तथा स्थल मार्गबाट पटक पटक सामान खरिद गरेको थियो। सरकारले असार १५ गतेदेखि दैनिक १० हजार नमुना परीक्षण गर्ने लक्ष्य राखेको छ। तर, सोही प्रयोजनको लागि ल्याइएको किट फिट नहुदाँ समस्या पर्ने देखिएको छ। दुई महिना अघि चीनको तिब्बत सरकारले सहयोग गरेको ३०,००० पीसीआर किट पनि नेपालका प्रयोगशालामा नमिलेर थन्किएको अवस्था छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डाक्टर रुना झा सेनालाई कुनै पनि ब्राण्डको किट सिफारिस नगरेको बताउँछिन् । उनले सेनालाई आरएनए एक्ट्रयाक्सन किट चाहिएको मात्र बताएको दाबी गरिन् । उनले भनिन्, ‘हामीले आरएनए एक्ट्रयाक्सन किट चाहिएको बताएका थियौं, तर सेनाले कुन किट खरिद गर्दैछ भनेर हामीलाई भनेन, यो कुरा स्वास्थ्य सेवा विभागलाई सोध्नु।’

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल किन एमएल भीटीएममा मात्र प्रयोग हुनेखालको किट किन आयो भन्ने विषयमा मन्त्रालयले बुझिरहेको बताउँछन् । डा. पोखरेलले भने, ‘किन यस्तो किट आयो र त्यसको विकल्प के भन्ने विषयमा हामीले बुझिरहेका छौं।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमन सिंह पनि यो विषयमा बुझ्न बाँकी रहेको बताउँछन् । उनी भन्छन्, ‘खै के-के भइरहेको छ मैले बुझ्न बाँकी नै छ।’

Related Articles

Back to top button
Close